तस्मात् त्रास यहाँ छैन केही बेर लडीकन
थाक्नेछ दैत्य चाँडै नै आत्मा गल्छ गिरीकन ॥
(९२)
कुरा गर्दा गर्दै असुरहरु आए घननन ।
झरे तारा जस्ता झरझर गरी दैत्यदमन ॥
बडो बाजा धूँ धूँ ढमढम बजे ढोलकहरू ।
यता बज्छन् घण्टा घननन गरी शङ्ख डमरु ॥
(९३)
कोलाहल भयो ठूलो समरध्वनि दैत्यको ।
उठे प्रत्युत्तर दिँदा देवता युद्धशब्दले ॥
(९४)
"महाध्येय ! महाध्येय !" दैत्यले गर्जना गरे ।
"महासत्य, महासत्य" देवले गर्जना गरे ॥
(९५)
दैत्यले गर्जना गर्दा कालो तूफान मच्चियो ।
देवले गर्जना गर्दा बिजुली झिल्ल चम्कियो ॥
(९६)
दैत्यराजहरू ठूलो शानका रथमा चढे ।
ठूला ठूला पङ्खवाला हयका गतिले बढे ॥
(९७)
दैत्यका शस्त्र थर्काई दिन्थे घन्न नभस्तल ।
देवका अस्त्र चम्कन्थे शान्त, सुन्दर, उज्ज्वल ॥
(९८)
वाणवर्षा भयो ढाकी आकाश घनले सरि ।
रणस्थल अँध्यारो भो वर्षियो रक्तको झरी ॥
(९९)
चम्किए देवका शस्त्र अस्त्र, झल्ल प्रकाश दी ।
आँखा हेरी देव हान्थे दैत्य दृक् बन्द भैवरी ॥
(१००)
Page:Shakuntala.pdf/340
Appearance
This page has been proofread
