बनिन् प्रेमी मीठी चकित दृगकी भास्करसँग ॥
पिताले मानेनन् तर विरहमा आसुहरुको ।
सफा दाना लुर्के कुसुमहरुमा नित्य निशिमा ॥
बने बेली दोटै हृदय करुणाले प्रभुजिका ।
अझै फुल्छन् बास्ना मधुरसँग हाँसेर हलुका ॥
छिपाई यौटाको हृदयकन अर्को हृदयमा ।
चरा सिर्जे मीठा सुमधुर प्रशंसा उदयमा ॥
जगत्का कर्ताले दुइ दिल बनी जून हँसिला ।
सुधा प्युँदै बस्छन् विधुकिरणका गन्ध रसिला ॥
भनी मर्जी हुन्थ्यो, अब दुइ गरौं साथ जपना ।
सधैं बन्ने त्यस्तै- भुलनु कसरी ? हाय ! सपना ॥
(१७६)
मलाई दी औंठी समर-थलामा शत्रुदमन ।
जसै फर्कीबक्स्यो हृदय तब रन्थ्यो दिन दिन ॥
बनाई घण्टी झैं मुटु, जलदृशीपूजन गरी ।
सधैं बाल्थी बास्ना विरह-अनलैमा थरि-थरी ॥
बनाई दुःखैको भवन दिलमा मन्दिरसरि ।
म बस्थें पूजामा गहभर हवा चामर गरी ॥
त्यही बाली ज्वाला प्रणय-दिलको कोमल मुना ।
चढाई आशाका निशिसरि उषा भक्ति-नमुना ॥
हरे बिर्सीबक्स्यो ! क्षण क्षण रुँदी हाय ! जपना ।
यसो होला भन्ने मकन न थियो बीच सपना ॥
(१७७)
भयो चीरा-फाटा मुटु धरधरी छाति चिरियो ।
थियो आशा आडै, अब उ पनि वैलेर छरियो ॥
हरे ! वर्षा जस्तो प्रभु सकल यो जीवनकथा ।
रुझेकी पन्छी झैं मरणनजिकै पुग्छु अब ता ॥"
(१७८)
भनी झारी बर्बर् नभनिसकिने जीवनकथा ।
अरू बाँकी रुन्छिन् "शिव अब गयो जीवन ज्यथा ॥
म त्यक्ता नारी भै कुन भुवनमा आश्रय लिने ?
हरे ! यस्तो क्रूर प्रकृति प्रभु के कारण हुने ?
(१७९)
Page:Shakuntala.pdf/306
Appearance
This page has been proofread
