कुनै भत्केकी झैं मृदुल सपना आज बिचरी ।
अझै आशा गर्छिन् हृदय जप गर्दी प्रभु हरि ॥
हरे ! सम्झईद्यौ न त अब म मर्नेछु सहज ।
दया राखी जाओस् प्रभु विरहितामा शिखिध्वज ॥
(१४७)
उठे आँखा लामा अलि अलि गरी माथितिर नै ।
घुसिन् भित्रै भित्रै हृदयतिर सम्झी प्रभु उनै ॥
हरे ! के लीला यो निठुर मनले भन्दछ त्यहाँ ।
कहाँ गो प्याराको हृदय कलिलो पुष्प वनको ?
(१४८)
वनबाट विहङ्गबालिका ।
नव आशासँग पङ्ख ली उडिन् ॥
मृदु शब्द गरी खुसाउँदै ।
तरुमा फुल्न सुगन्धमा चढिन् ॥
(१४९)
तर वृष्टि भएर बादल ।
अब रुक्दो मृदु पङ्ख खुम्चिँदी ॥
दुखको तरुमा रूँदी रहिन् ।
अघिको सौख्य र याम सम्झिँदी ॥
(१५०)
कठै लाग्यो होला मनमन निठूरी जगत नै ।
कठै सम्भीहोलिन् वन, सखि बिहाको पनि दिनै ॥
कठै उघ्रेको त्यो दिवस हँसिलो आज यसरी ।
रुँदै बद्ली जाँदा सकल बदली झैं हुन गई ॥
कठै लाग्यो होला भव विपिन यो कण्टकमय ।
कठै ! रोईहोलिन् मनमन उठी त्रास र भय ॥
दुख्यो होला सारै हृदय मृदुलाको कति बरा !
कठै लाग्यो होला शर हृदयमा हा वनचरा !
(१५१)
Page:Shakuntala.pdf/300
Appearance
This page has been proofread
