This page has been proofread
तौल तौल रति काँठ मिलाई ।
ईशबाट रचना सब अड्छ ॥
एक नै पल भुले मृदु सत्य ।
मोक्ष गुम्छ मन यो तल गड्छ ॥
(९७)
सत्य नीति जसको छ धरामा ।
वीरका शिखर झैं यति दिव्य ॥
हुन्न ती नृपतिमा डर त्रास ।
सत्य बोल्न यति गर्दछु आश ॥
(९८)
बाहिरी सब बनावटबाट ।
बिग्रिँदो छ दुनियाँ दिनरात ॥
सत्य भज्छ तर अन्तर आत्मा ।
बोक्रिँदो छ नित झूट बढाई ॥
(९९)
हाय ! कृत्रिम छकावट साना ।
हाय ! लाज हलुकापन नाना ॥
हाय गर्व ! सब इज्जत टेढो ।
पार्छ सत्य विधुवा दुनियाँमा ॥
(१००)
त्रास लौकिक छ कृत्रिम बाह्य ।
लुक्छ लाजसित अन्तर आत्मा ॥
काटिँदो छ यसरी दुख फ्याँक ।
बन्नलाइ दुनियाँ सब हाँक ॥
(१०१)
यी समस्त प्रभुका कमजोरी ।
छाडिबक्सनुपर्यो करजोरी ॥
गर्छु विन्ति गहले, अब नाथ !
सत्य स्वीकृति हओस् सुखसाथ ॥"
(१०२)