This page has been proofread
राज्यका स्थिति विकार बढेर ।
बिग्रिनेछ यदि सत्य हटाए ॥
चित्त नास्तिकसमान खसेको ।
खल्बलाउन गईकन आफैं ॥
(७७)
सत्य नीति रहँदातक व्योम ।
तारकाहरु अडाउँछ झल्ल ॥
गिर्छ त्यो पनि बनीकन आँधि ।
सत्यको यदि नहोस् त समाधि ॥
(७८)
सत्यशृङ्खल बनेर समस्त ।
विश्व अड्दछ परस्पर मेल ॥
वस्तुमा न त विरोध उठेर ।
गिर्दथे गिरिजरा नअडेर ॥
(७९)
कीर्ति भूपहरुको रविको झैं ।
दिव्य चालसँग उज्ज्वल नै छ ॥
ऐश ऐन त्रुटिले त्रुटिजाँदा ।
फेरि सूर्य कसरी बलिजाने ?
(८०)
सूर्यबाट जसरी तम-रेखा ।
निस्किँदैन सब मानिस लेखा ॥
आश गर्दछ सदा मन नाथ !
हुन्न झूट कहिल्यै प्रभुबाट ॥
(८१)
जानु फेरि र कहाँ छ सहारा ?
सत्य नै नृपतिबाट गुमेका ॥
सूर्यबाट यदि वर्षण हुन्छ ।
अन्धकार तब सृष्ट रहन्छ ?
(८२)