This page has been proofread
आज के शरमले प्रभुबाट ।
दाग लाउनु पवित्र ललाट ॥
गर्नु छैन छलछाम बुझेर ।
पाप लाग्छ यसबाट अघोर ॥
(६५)
हात हाल्न अघि सर्न हुँदैन ।
स्त्रीहरूकन त्यसै यशवाला ॥
गर्भिणीकन म चिन्दिनँ फेरि ।
भन्नु नीच जनको बुझ चाला ॥
(६६)
सम्झ सत्य नृप विस्मृति ह्वैन ।
यो महाकपट ठीक हुँदैन ॥
चुम्छ भृङ्ग अघि पुष्प समाती ।
बिर्सिनेछ 'कलि' दुष्ट नजाती ॥
(६७)
यी सुचारु दुहिता ऋषिबाट ।
त्यक्त देखिन गए प्रभुबाट ॥
दुष्टता हृदयको अनि पाप-
लाइ मिल्दछ जरूर शराप ॥
(६८)
सत्य बोल्नु नृपको महिमा हो ।
न्याय नै नृपतिको सुषमा हो ।
त्रासले शरमले प्रभु गल्नु ।
धर्म छाड्नु कमजोरपना हो ॥
(६९)
चन्द्रवंश किन लिन्छ कलङ्क ?
लाग्छ बादल हरे ! किन आज ॥
सत्यको त्रुटि हुँदा दिन ज्यान ।
जो तयार अघि खै अब लाज ?
(७०)