This page has been proofread
आधिराततक त्यो बिउँझिरह्यो ।
भक्ततुल्य प्रभुको चरण लियो ॥
त्यो समुत्थितमना तब सुखमा ।
प्रातकालतक, सुत्दछ पिँडिमा ॥
सूर्य उदय भै तब बिउँझी ।
त्यो दुहुन्छ पय श्रीचरण भजी ॥
(५७)
थकाइ रातमा मरी ।
प्रभातमा उठीवरी ॥
शकुन्तला र गौतमी ।
गए तडागमा घुमी ॥
(५८)
प्रभातको प्रवातले ।
प्रबुद्ध वृक्षपातले ॥
"नजीक आउ" भन्दथे ।
सुभाष शब्द बन्दथे ॥
(५९)
दिनेश दूरवृत्तमा ।
सुवर्ण लट्किएसरि ॥
धपक्क छन् समक्षमा ।
सुवर्णपोखरी भरि ॥
(६०)
अनेक मत्स्य छन् जल ।
झझल्ल रम्य शीतल ॥
अनेक रङ्ग मीन ती ।
टिपेर खान चामल ॥
(६१)
पुलुत्त आउँछन् पर ।
चलाउँदै मनोहर ॥
सुचारु तेजिला पर ।
निमेषहीन सुन्दर ॥
(६२)