This page has been proofread
थकित किसान त्यजीकन खाट ।
अतिथि बुझीकन आउँछ राती ॥
पिलपिल दीप दुवै करलाई ।
पवनप्रवाह हटाउनलाई ॥
"किन किन को ?" सित प्रश्न गरेर ।
वसन कटीतक छोप्न धरेर ॥
(३०)
"किन ? को" भनी किसानले ।
द्विजलाई सोध्छ मानले ॥
दुइले बताउँदा सब ।
खुशसाथ गर्छ स्वागत ॥
(३१)
तब भित्र पस्न गौतमी ।
दइ हात आड पाउँछिन् ॥
द्विजसाथ ती शकुन्तला ।
तिनको पछाडि आउँछिन् ॥
(३२)
तब खाटमा बसाउँछ ।
द्विजलाइ दिन्छ आसन ॥
भुइँमा परालका सफा ।
अनि बाल्छ अग्नि दन्दन ॥
(३३)
अब उष्णता प्रकाशले ।
छ त न्यानुले, मिठासले ॥
कृषिसत्कृता मुसूमुसु ।
दुइ बन्दछन् सुभाषले ॥
(३४)
अरुण प्रभा छ दन्दन ।
मुखलाल छन् शकुन्तला ॥
कृषिबालिका उनैतिर ।
छ सवाल क्या भला भला ॥
(३५)