यानभित्र पस्दछिन् र ।
"दूर छैन भो बढूँ त !
दूर छैन ! दिव्य ध्येय ।
नन्दनैसमान दृश्य ॥
देखियो त एक बार !
राजधाम त्यो अपार ॥
राज्य यो बडो उदार ।
यो हरा भरा प्रकाश ॥
बीच सान्ध्य कान्ति खास ।
तुल्य राज्य गर्न पाऊ ।
आउ पुत्रि ! आउ आऊ ॥"
(२२)
शीघ्र शीघ्र चल्छ यान ।
राजधामतर्फ जान ॥
मिर्मिरि बनेर दृश्य ।
हेर्दछन् सबै वितान ॥
शान्त मौन मिर्मिरे छ ।
एक तारका अगाडि ॥
व्योम हुन्छ फेरि श्याम ।
वारिवाह वैलिजान्छ ॥
सुस्त सुस्त भै विलीन ।
मार्ग बन्छ क्यै मलीन ॥
(२३)
"आज छैन सम्झना कि" भन्छ भित्र कल्पना ।
स्वप्नततुल्य वैलिजान्छ मेघमाथि सम्झना ॥
ती बिदाइ स्वर्गतर्फ ती दिनेश जो गए ।
दूर अन्य दृश्यभित्र के मलाई बिर्सिए ?
(२४)
शैलवासिनी समान साँझका झलकमा ।
शीत शीत पक्ष्ममाथि ली वियोगिनी थिएँ ॥
फुस्रिएर अन्धकार छाउँथ्यो दिशा दश ।
एक अंश नै मिलेन अन्धकारको वश ॥
एक पुष्प नै खिलेन दुःखले निसास्सिएँ ।
(२५)
Page:Shakuntala.pdf/264
Appearance
This page has been proofread
