Jump to content

Page:Shakuntala.pdf/248

From Nepali Proofreaders
This page has been proofread

मेरा प्यारा सखि विपिनका वल्लरी वृक्ष सारा !
जो जो बढ्थ्यौ मसँग सुखमा जिन्दगीका सहारा ॥
बाँडी मेरा सुख-दुख भरी भाव, सम्झे मलाई ।
तिम्रो प्यारो दिलसँग रुँदै लिन्छु मैले बिदाइ ॥
(६७)

"बिर्सिन्छ्यौ के भनन पर भै कामिनी-कञ्ज शोभा ?
तिम्रो फुल्ला समय सुखले गन्ध शृङ्गार पाई ॥
मस्ती मीठो पिककन हुँदा शब्दमा मस्त बन्दी ।
रानी ह्वौली मधुर महिमा छर्न तिम्रो सुगन्धी ॥"
(६८)

"बढ्दै जाला रस रँग यहाँ बागमा घाम पाई ।
चढ्दै जाला तर शिशिरको श्वास मात्रै मलाई ॥
उड्दै जाला विहग सरका बासमा मस्त बोली ।
आजैसम्मन्‌ सुख नजरमा, दुःखको हुन्छ भोलि ॥
(६९)

बोली मीठा हृदय भरिने पङ्खले चारु गर्छन्‌ ।
आशा जस्ता कुसुम ऋतुका शब्द झैं भै विचर्छन्‌ ॥
न्यानो होला स्वर रँग घुसी बास पाई नवीन ।
यौटी दुःखी परतिर बसी खालि रौली मलीन ॥
(७०)

यस्तो प्यारो उपवन हरा एक यो स्वर्ग मेरो ।
क्रीडाभूमि प्रकृति-सुखको दौलती दिव्य फेरि ॥
मेरो आफ्नो तनुसँग सदा वृद्धि पाईरहेको ।
बोल्दा चल्दा सुखमय सबै पर्ण पन्छी भएको ॥
(७१)

यो पन्नाका जगत, सुखको रत्न, सौगन्ध हीरा ।
यो गानाको उपवन हरा, गुञ्जिने पुष्पवाणी ॥
मीठो शोभा बहुल रँगका, वायुको यो हवेली ।
यो छाया यो छवि पर हुँदा दुःख झैं हुन्छ भोलि ॥
(७२)