जोडी दिएर कर सुन्दर पाखुरामा ।
अन्दाज भै विफल पन्सिन जोड गर्दी ॥
फर्काइँदी वदन सुन्दर ती पछाडि ।
आँखा जुझी मधुर छन् स्मित चारुपाथ ॥
(४१)
"पाइन्छ फेरि र कहाँ अब गर्न ठट्टा ?
रानी भएपछि त यो सुख बन्छ बट्टा ॥
चिन्नै हुनै कठिन क्यार गरीब साना ।
यो एक रोज नगरूँ किन हास्य नाना ?"
भन्छिन् गरेर मुटु चुम्बन ती गलामा ।
लागेर कुत्कुति हँसाउन ओठ लामा ॥
(४२)
जिस्की बसे मधुरता जन मर्मवाली ।
लागी भइन् अनि उठिन् तन भाग्नलाई ॥
पक्रेर ल्याउन उठे सखि चार चारु ।
"फर्किन्नँ नाइँ" भनि अङ्ग फरक्क पारी ॥
झर्केर फर्किन गइन् रिससाथ भारी ।
(४३)
त्यो रात नीद हलुकासँग चट्ट ओर्लिन् ।
आधा खूला पलकमै सपरा उघारी ॥
याथार्थको यवनिका हलुका उचाली ।
पारी तरङ्ग सपना मुदृ रोशनीमा ॥
(४४)
आनन्दमा सकल होश खिचेर भर्दो ।
अव्यक्त भावहरुका प्रकृत क्रियाले ॥
मीठा र हृद्य रंग रूप र शब्द रेखा ।
बेहोश सत्यसँग सुन्दर नाटकीय ॥
(४५)
बाधा जिती, समय, स्थान र दूरताका ।
देख्दी दिलै नजिकका सब दृश्य खोली ॥
भर्थिन् वियोगकन आश-मिठास सत्य ।
सच्चाइसाथ मधुरो प्रिय कामनामा ॥
Page:Shakuntala.pdf/233
Appearance
This page has been proofread
