कुसुमहरु कलामा खोल्दछन् ओठ साना ।
विमल झलक झैं छन् सत्यका शीत दाना॥
यस वनतिर जाँदा कल्पना बन्छ छीटो ।
तरुतल जल सँग्ली बिम्ब ली बोल्छ मीठो ॥
(११)
रविकिरण फुटेका पुष्प रङ्गीन फुल्छन् ।
शिशु-सरलपनाका स्वर्गका जीव खेल्छन् ॥
मधुर प्रकृत बाली देवताबाट फल्छन् ।
कतिपय धन मिल्छन् जो जगत्मा हुँदैनन् ॥
(१२)
अमृतरस फिँजारी शीतला9ह्लादकारी ।
हृदय कुमुदिनीको हास्यद्वारा उघारी ॥
छिरबिरसित भारी रम्य पारी छहारी ।
मधुमय विधु ओर्ली डुल्दछन् भै विहारी ॥
(१३)
तरल जलपरीका नागिनीतुल्य झीना ।
रजतपयर नाच्छन् स्वप्नभन्दा मसीना ॥
विधुकर तल पर्दा झल्मलाएर बोली ।
'कल कल कल' भन्छन् ती मिलाएर लोली॥
(१४)
झलमल नभ नीला झूल झैं झल्ल पारी ।
तमकन भवनिद्रातुल्य पारी फिँजारी ॥
अचल पवन अड्दा स्तब्धता ली निशाले ।
विहगभजन, सुत्दो ! ध्यान गर्छे मजाले ॥
(१५)
कुसुमित छ यही नै सत्यशाखाप्रशाखा ।।
कुसुम विहग बन्दै पाउँछन् आदिभाषा ॥
प्रकृति सृजद्वारा चारुताका विचित्र |
मनुजहृदय खिच्छिन् सत्यतर्फै पवित्र ॥
(१६)
Page:Shakuntala.pdf/17
Appearance
This page has been proofread
