This page has been proofread
कलिली तिनी विरही बनी ।
अलि सोच्दछिन् मृदु प्रश्न ली ॥
सखि वल्लरी वनमा फुली ।
मृदु हाँस्दथे कलि खिल्खिली ॥
रँग लाजका मुखमा बली ।
अधरेच्छु भै नखुली कुरा ॥
उनबाट दिव्य रहस्य ली ।
(२०)
तर देख्दछिन् जब अल्मली ।
अलि कोपिले मनमा जली ॥
सबमा शराप तिनी पनि ।
मृदु ढङ्गका मनले दिँदी ॥
यति भन्दथिन् "रवि आउँदा ।
सब आँसुदार बने रुँदा ॥"
तब बन्दथे सब छुन्मुना ।
पवनेच्छु ती कलि औ मुना ॥
(२१)
तर बुझ्दछिन् कि प्रियम्वदा ।
कि त चारुले मधुरास्पदा ॥
सखि-भावना मन-मञ्जरी ।
ऋतुराजको महिमा भरी ॥
(२२)
"किन बस्दथिन् सखि एकली ।
मरुपुष्प झैं खिइँदी फुली ॥
मृदु वासना नव बैंसको ।
विरही शिखा बनिगै जली ॥"
दुई भन्दथे सखि चिन्तिता ।
अनसूयिनी र प्रियम्वदा ॥
(२३)
"किन बस्दथिन् सखि एकली ।
मितभाषिणी निहुरी भली ?