यति पछि नृप लागे डुल्न तस्वीर प्यारा ।
हृदयपट सिँगार्ने मौन खिच्दै हजारा ॥
तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा ।
मुख विकृत लगाई खोज्दथ्यो व्यङ्ग्यपर्रा ॥
घन जन घर छोड्ने भूपमा हान्न छर्रा ।
(६६)
शशयुवति हँसीली पुष्प जस्ती रसीली ।
कुसुमित जब देखे छन् त्यहाँ बैंस-ढीली ॥
त्यससँग मुटु पोल्दा च्याखुरा एक बोल्दा ।
अलि गलित भएछन् दुब्लिँदा ज्योति ढल्दा ॥
चतुर विपिन तित्रासाथ लाई मितेरी ।
हृदय सब खुलाई गर्दछन् एक विन्ति ॥
"स्वकरगत बनाऊँ ती उज्याली हँसीली ।"
चतुर विपिन तित्रा भन्छ "ओर्लेर आऊ ॥
सलिल-तिर डुबुल्की स्नेहको एक लाऊ ।"
तब विधु तल ओर्ले ठाउँमा वृक्ष घोर्ले ॥
सलिलबीच डुबुल्की लाउँदै चट्ट हल्ले ।
शशयुवति उज्याली ती हिमाली कपोल ॥
जलतिर जब झर्थिन् स्नानका निम्ति हेर ।
तब कर हलुकाले चट्ट टिप्छन् शशीले !
तब शशधर बन्छन् पूर्णतामा खुशीले ।
अहह ! कति मजाको प्रेमलीला छ वन्य ॥
भज अब शशवाला चन्द्रवंशी सुधन्य ॥
महल धन मजा ती स्वर्गको छोड रम्य ॥
घनविपिन विहारी दौँतरी क्या अचम्म ।
पतिसित बतुरे ती ओठ तीता लगाई ॥
छि छि छि छि ! सँग थुक्छन् वन्य पैयूँ चपाई ।
तर अब निशि ओर्लिन् रङ्ग सारा पखाली ॥
गगन मधुर पारी मिर्मिरे भाव हाली ।
वन अब धुइरो भो, मार्ग अस्पष्ट रूप ॥
उटजतिर हिँडे ती घोरिँदै फेरि भूप ।
(६७)
Page:Shakuntala.pdf/152
Appearance
This page has been proofread
