कवि-हृदय रसीली ज्योति जस्ती सजीव ।
अरुण सुमन-गाला वल्लरी लोल चाला ॥
मदनकि बहिनी झैं, ती उषाकी सँगी छन् ।
अविदित महिमा झैं स्वप्न यात्राहरूकी ॥
(५५)
अवनितिर झरेकी रत्नको व्योम ज्योति ।
पयर मधुर चल्ने फूलको झैं छ लोती ॥
मधुर मधुर गिर्छन् मुस्किँदा चारु मोती ।
अरुसरि तिनि छैनन् चारु सङ्कोचकी ती ॥
(५६)
अलि परतिर सर्ने मर्द देखेर सामु ।
प्रकृत शरमवाली कोपिला झैं खुला छन् ॥
रँग सुमधुर चढ्दी कोपिला झैं सुगन्ध ।
सुखसँग उर फुक्ने भै बडो लाजवाली ॥
(५७)
डर छ भ्रमर बस्ला चट्ट काहीँ भनेर ।
छिन घिन मृदु गाला छोप्दछिन् ती नुहेर ॥
शिर रससित कर्के, कान यौटा उचाली ।
छिन छिन अलि छोपी छैन झैं भान पारी ॥
(५८)
अलिकति पर सर्दी फेरि झस्केर छर्दी ।
अलक अनि 'कहाँ गो' झैं भनी चट्ट हेर्दी ॥
मृदुल सरस लच्कासाथ रम्भोरु घुम्थिन् ।
नयन भ्रमर छल्दी स्वप्न झैं दिव्य बन्थिन् ॥
(५९)
जलभृत घट बस्दा लच्किएका कटी ती ।
छचल जल छचल्की झल्किएकी छचल्का ॥
तरुण रस ककल् कल् फूलका बोट पोषी ।
हृदयज-जल जस्ता भावना छाल पोखी ॥
विपिन कुसुम-पोस्ने देवकन्यासमान ।
उपवनकन दिन्थिन् स्वर्गको चारु भान ॥
(६०)
Page:Shakuntala.pdf/150
Appearance
This page has been proofread
