जलद गगन ज्वाला रङ्गवाला उज्याला ।
रविकर मृदुमाला स्वप्नका रङ्गशाला ॥
हृदय-सर-विभासी भावका मञ्जुनाला ।
प्रकृत रस छ भर्ने बैंसको स्वर्ण प्याला ॥
(४५)
विधुवदनसुधाको शीतलो शीत थाली ।
टहटह वनमा जो दिव्य जादू खसाली ॥
कुसुम मृदु नशामा स्वप्निलो भर्छ पानी ।
मगमग मृदु वास्ना पत्रमा चारु छानी ॥
त्यस रससँग फुल्दा बैंसका यी शिरामा !
'बल बल'- सित बल्की रङ्ग चढ्दछन् सुरामा ॥
(४६)
मृग-शिशुहरु पाई शैल सींढी तहालु ।
लघु पयर उचाली फुर्फुरे सौखचालु ॥
प्रकृति-कलित उत्री टीपको रङ्गशाला ।
हरित मृदु दुभोको शैलको खातवाला ॥
खुरखुरसँग चढ्दै ओर्लिँदै छन्दसाथ ।
प्रकृतसुख सिपालू चालका स्निग्धगाथ ॥
जुन सरस सजीव स्वादु नृत्य-प्रसन्न ।
विपिन सरल हुन्छन् चाल त्यो चारु वन्य ॥
कति मधुर घुसेका कामिनी हेर धन्य।
(४७)
हृदय किरण न्यानो कोपिलाले फुकाई ।
पवन रसिकलाई चोर्न खोली मिठाई ॥
हिलमिलसँग हिल्ने भावना नृत्यदार ।
कुसुमित छ उज्यालो बैंस खुल्दो मुहार ॥
(४८)
निशिभर सपनामा तारका छम्छमाई ।
मृदु वन सहभावी भावमा चम्चमाई ॥
Page:Shakuntala.pdf/148
Appearance
This page has been proofread
