पूरा वर्णन जन्मको जब गरे आलीहरूले त्यहाँ ।
काँढो गो मनको 'यिनी ऋषिसुता ह्वैनन्' भनी चित्तले ॥
धर्मात्मा नृपको निकै अब थियो आनन्दको भावना ।
कालो पापसमान दब्छ कुइरो आकाशमा पत्लिई ॥
(८८)
धेरै मिष्ट कुरा भए, तब थपिन् आली कुनैले त्यहाँ ।
"हाम्री छन् सखि पुष्पतुल्य, मधुकी प्याला फुकेकी रँगी ॥
झर्किन्छिन् भँवरा नजीक नहवोस् भन्ने गरी भावना ।
लैजान्छन् कि टिपेर मन्मथ स्वयं भन्ने छ शङ्का यहाँ ॥"
(८९)
भन्ने बात सुनी रिसाउन छिटी आँखा तरी बोल्दछिन् ।
"कस्ता लाज र भाँडका मुखहरू ! बोल्छौ ठुटा नाकले ॥
यस्ता शब्द गरी त्यसै मन परी छाड्ने सबै काम लौ ।
आमैसाथ गएर भन्दछु यहाँ के दुष्टता गर्दछौ ?"
(९०)
भन्दै भन्न फनक्क भैकन गइन् टाढा पुगिन् ती पर ।
फर्की हेर्न भएर चित्त मनले रच्दो भयो जाल क्यै ॥
यस्तैमा तब शूलले पयरमा बिझ्दा बहाना दिने ।
"आच्छू ! लौन" भनी थचक्क भुइँमा ती वेदनाले बसिन् ॥
(९१)
राजा हेर्न गए, गए सखिहरू काँढा झिके डोबको ।
तीखो दर्द परेर आफ्नु मुटुमा राजा रसीला बने ॥
यस्तैमा तब भूपका जनहरू आए गरी खल्बली ।
देखाईकन काम तीसँग बिदाबादी भए भूपति ॥
(९२)
Page:Shakuntala.pdf/139
Appearance
This page has been proofread
