This page has been proofread
"सदय देव यहाँ अरुणोदय-
सरि सवार हुँदो वनवारिमा ॥
पयरकष्ट गरीकन आसन ।
लिनुहवस् कुशको प्रिय शासन ॥"
(६७)
"नगर भो अति कष्ट सुकोमला ।
नगरका घरका जननिम्तिमा ॥
नगर शान्त निकुञ्जनिवासिनी ।
न गरमी छ यहाँ न थकाइ छ ॥
न गरुकाउँछ आँग न वा उरु ।
नगरलायित छन् वनका तरु ॥"
यति विदूषकले तिनमा भने ।
बहुत खिल्खिल ती पुतली बने ॥
(६८)
"यदि खडा 'बखडा तरु' फुल्दछ ।
किन खडा म नहूँ नखरा लिई ॥
म छु वयस्क हुँदा तगडा अझ ।
किन खडा हुनगो झगडा यहाँ ॥
धवल केश फुली लटरम्म छ ।
तरुणभाव त तैपनि टम्म छ ॥"
यति सुनीकन हास्यविनोदिता ।
अधर छोप्न तयार भए लता ॥
जब विदूषक छिँक्क गरी रुघा ।
सरस ताउ लगाउँदछन् जुँघा ॥
(६९)
"सखि ! कुशासन ल्याउन जाउन ।"
यति भनी शरमाउँदछिन् जहाँ ॥
वचनकी मधु ती, उनमा नृप ।
वचन मिष्ट सुनाउँदछन् यहाँ ॥