This page has been proofread
"उपलले पलले थलमा यही ।
मृत बनी तँ बनी रज झर्दथिस् ॥
मन भरी नभरी करुणा रहोस् ।
ल अब आबरु आ बरु आबरु ॥"
(५७)
विनयले नयले नधपाइने ।
उभयले भयले नहटाइने ॥
मधुर आशयले शयले पनि ।
पर धपाउन पाउन मुस्किल ॥
(५८)
पर सरी, रस रीस र रागकी ।
पवनकी वनकी कुसुमाङ्गिनी ॥
शरमदार-मुहार गुलाब छन् ।
ललित लोलित दोलित भाव छन् ॥
प्रकृत छन् कृतझङ्कृत कान ती ।
सरसता रस ताल र ढङ्गकी ॥
(५९)
गरि गुहार मुहार निहारदी ।
पवनमा सुकुमार प्रहार दी ॥
कुसुमरूप जुहार शिकार ती ।
मधुपकी, धपकीकन लाल भै ॥
अब बनिन् वनमा रति कामकी ।
(६०)
अघि सरी बिचरीकन भन्दछिन् ।
सहचरी अलि चञ्चललोचनी ॥
नृपतिमा पतिमान गरीकन ।
यश दिशा दश बीच छरीकन ॥
“स्ववश शत्रु गरी महिमा लिने ।
अलि धपाउनु पाउन ! लौ भन ॥
किन कि छौ कनकाञ्चलिनी तिमी ।
अरुणता दिनकी सुरमोहिनी ॥"
(६१)