मञ्जरी-कुसुम-रुद्ध भै गला ।
मूकि छौ कि भन कण्ठकोकिला ?
या फुलेर मृदुबैंस सुन्तला !
खोज्छ प्रेम भँवरा सुमञ्जुला ?
के छ उत्तर खुला शकुन्तला ?"
(२३)
मुस्कुराउँछ विनम्र लोचन ।
तेज चढ्छ, बिजुली कि मोहन ?
भाव झल्किन गई छुँदो मन ।
लाम्चिईकन कुना विमोहन ॥
रोक्न कोशिश गरेर मुस्मुस ।
चारु ओठ क्रमका विकासले ॥
पालुवासरि प्रवालका खुले ।
ती कपोल कलि लाल भै फुले ॥
रेखियो मधुरता मुहारमा ।
आँखिभौँ अव उचालिँदा चले ॥
वक्र लोचन बनेर दृष्टिले ।
चारु उत्तर दिइन् कुरै फुले ॥
(२४)
थप्दछिन् तब प्रियम्वदा त्यहाँ ।
"क्या फुली मृदुलता लतासरि ।
लाज फुल्छ लिन लाल माधुरी ।
एक डाकन मिलिन्द सुन्दरी ॥"
(२५)
आँखिभौँ मृदुलरेख खुम्चिँदी ।
लाजसाथ अलि चट्ट फर्किंदी ॥
त्यो अशोक तरुलाइ कर्किंदी ।
अप्रसन्नपनसाथ तर्किंदी ॥
छन् खडा अलि घडा छचल्किँदी ।
बैंसको ढलकसाघ ढल्किँदी ॥
मेघका विपिनबीचकी कला ।
वारुणी मधुरता शकुन्तला ॥
(२६)
Page:Shakuntala.pdf/125
Appearance
This page has been proofread
