कटक्क टाप कड्कियो पटट्ट रज्जु पड्कियो ।
शिला चटट्ट चड्कियो गडड्ड यान गड्कियो ॥
घरर्र चक्र घुम्दछन् झिलिल्ल अग्नि झल्कियो ।
सवेग अश्व चल्दछन् तथापि मिर्ग अल्पियो ॥
(८)
बढेर जान्छ वेग झन् पिटाइ पाउँदा हय ।
तडित्समान बन्दछन् बुझी समस्त आशय ॥
गरेर घोष मैघको दगुर्छ झल्किँदै रथ ।
अरण्य-अग्रगण्यको लिएर वेगले पथ ॥
(९)
सफेन अश्व तेजका भिजी प्रसाधिताङ्ग ती ।
जुटेर रोम टाँस्सिँदा लगाम जो चपाउँछन् ॥
फुरेर नाक फोहरा फुरुर्र बीच बीचमा ।
गला सुदीर्घ यालका समस्त छल्बलाउँछन् ॥
सजीव स्थूल नेत्र छन् र कान छन् उचालिँदा ।
सुशीघ्र चारु टाप छन् उचालिँदा खसालिँदा ॥
घुँडा छुने लतारिने छ लोल दीर्घ पुच्छर ।
अगाडितर्फ उफ्रिँदा कटट्ट टाप कड्किँदा ॥
(१०)
उ मिर्ग ! आधि खाइँदो छ घाँस आधि दाँतमा ।
छरेर बुर्कुसी लिँदै सुरेख कण्ठ बाङ्गिँदो ॥
पछाडि आँग खुम्चिँदा भएर त्रास वाणको ।
अगाडि ज्यादि हत्तिँदो फटक्क दूर फट्किँदो ॥
जमीन थोर नै छुने र धेर जो हवा हुने ।
झिना सुशीघ्रपादले फटक्क फट्ट फड्किँयो ॥
दिएर दृष्टि यानमा सशङ्क सट्ट सड्किँदो ।
(११)
सुवर्णयानमा डटी मुहारका समुज्ज्वल ।
खिचेर ज्या सुवाहुले यसो पछाडि ढल्किँदा ॥
लिएर ताक, भौँ दुवै सरक्क खुम्चिँदा अलि ।
खिँचेर ज्योति नेत्रको सुदूरमा लगाउँदा ॥
(१२)
Page:Shakuntala.pdf/109
Appearance
This page has been proofread
