This page has been validated
अथ
शिशिर-विचार
१
हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि ।
दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि ॥
२
उही ठण्डी, उही हुस्सू, हिम-वर्षा उही सब ।
अहो ! शिशिरले सारा हर्यो हेमन्त-वैभव ॥
३
हेमन्तको म हूँ भाइ, हुन्छु दाइ-बराबर ।
भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर ॥
४
थपी हेमन्तको भन्दा बढता वात-सङ्कट ।
सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट ॥
५
दिनहुँ तल घर्कन्छ चुलियेको हिमाऽऽचल ।
बिहोशी ऐशमा मस्त राष्ट्र झैँ मद-सङ्कुल ॥
६
सारा शरीरमा शीत फैलिँदामा पनी सब ।
अहो ! कम्प-ज्वराऽऽक्रान्त रोगी झैँ काँप्तछन् अब ॥