Jump to content

Page:Ritubichar.pdf/18

From Nepali Proofreaders
This page has been validated
अथ
ग्रीष्म-विचार


लेखी देखे-बुझेसम्म वसन्त-महिमा सब ।
कविको लेखनी दौड्यो ग्रीष्म-वर्णनमा अब ॥


राम्रो वन-बगैँचाको वासन्ती कान्ति मन्द भो ।
मानू स्वर्गीय गङ्गाको मधुर स्रोत बन्द भो ॥


पुगे शनैःशनैः सूर्य मध्य आकाशमा अब ।
देखायेर पराकाष्ठा उत्थान-क्रमको सब ॥


प्रतापीको प्रतापाऽग्नि-शिखा जस्ता कडा दिन ।
दबाई जगतैलाई अब थाले खडा हुन ॥


शके-सम्म करद्वारा पृथ्वीको रस खीँचन ।
अविवेकी विजेता झैँ सूर्य लागी-रहेछन ॥


धपक्क भै बलेका छन् घामले दिन बेसरी ।
दीपकाऽऽभ्यासमा व्यग्र विद्वान्‌का इन्द्रियै-सरी ॥


रश्मिका रूपमा ताता वर्षायेर तिखा सिया ।
सूर्यले गर्न आँटे कि विश्वगोल छिया-छिया ?