This page has not been proofread
उत्तर भारतभरिका थिए
क्षत्रिय शिरताज ।
उनलाई भेट्ने पृथिवीभरमा
कोही थेन प्रतापी ।
स्वर्गका इन्द्र पृथ्वीका चन्द्र
विष्णुका अवतार, भक्तिका केन्द्र
कर्ण दानी, कीर्तिका खानी
खोलामा बग्थे सुन भई पानी
भीममैं बलवान् ।
युधिष्ठिर तुल्य सत्यका प्रेमी
अनेक यस्तै प्रशंसा गर्थे
नृसिंह बखानी ।
(१३)
भाटको पूजा छिः हरे मलाई
क्यै निको लाग्दैन ।
मनले मेरो सत्यको सिवा
अरू चीज माग्दैन ।
झूटाका तारीफ गाँजाझैँ लागी
आफूलाई सम्झी सत् यशका भागी
संसारमा बन्छन् राजा है दागी
प्रकृति बाङ्गेर ।
समय तीरमा हजार वर्ष
पछि पो फेरि संसारमा गई
कालाको कालो
सेताको सेतो
कर्म है नाङ्गेर ।
नसुन हरे ! है आफ्नो कीर्ति
मोलतोल छोडेर ।
सत्यको मोल
न्यायको तौल
कलङ्क जोडेर।