हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा,
यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा ।
अरू ता मैले के गर्न सक्थेँ ?, अपढ-अज्ञानी,
आँसुले भिजेको यो फूल गाँसेँ नजानी नजानी ।
घाम र छाया-बीचमा फुल्यो मनको फूलबारी,
सपनाभित्र फुलेको ल्याएँ बिपना ओसारी ।
यिनको बास बिर्साइदिन्छ वरको परको,
आँसु र हाँसो मिसाइदिन्छ सबका घरको ।
जो मैले गुँथेँ पहिर भाइ ! पहिर बहिनी !
प्रेमका गलामा नवैलिजाओस् भक्त हुँ म पनि ।
नेपाली माटो स्वर्गको किरण झरेर झन्क्यो मूल,
नेपाली बास्ना भएर निस्के अत्तर देशी फूल,
एकान्त वनमा फूलपरी रँगमा कस्सिए फुर्फुरी,
एक लहर टिपी चढाएँ, नाचून् छातीमा हरघरी ।
नदेख्ने वन कविको मन रङ्गले छिर्किन्छ,
जीवनको छायादेशमा एउटा फूलबारी हुर्कन्छ,
आँसुको जाल डालीमा हाली बिन्दुले रसाए,
कल्पने माली, अम्लान कुसुम,
एक डाली गुँथी, गलामा फाली,
जोर्दछु हात हे भाइ-बहिनी ! बास्नामा रसाए,
दिलमा खुशाए
स्वप्नाका धन नबाँडीकन हुँदैन खुशी मन !
आनन्द मेरो लखगुना होला सकारे समर्पण !
Page:Munamadan.pdf/6
Appearance
This page has been validated
समर्पण
