Jump to content

Page:Munamadan.pdf/46

From Nepali Proofreaders
This page has been validated

हे मेरी प्राण ! तिमी नै थियौ नि !!
प्राण ! छाडेर गयौ नि !!!
दैवले हान्यो शिरमा मेरो निठुरी घनले,
के गरी सहूँ ? के गरी रहूँ ? जीउँदो मनले !
सहन सीमा नाघेको मनले !
हे मेरी दिदी ! ती मुनालाई हेर्दछु एकै छिन्,
ती मुनालाई डाक न दिदी ! हेर्दछु एकै छिन् !
डाक न दिदी ! हेर्दछु एकै छिन् !
हे मेरी मुना ! हे मेरी मुना !! ओर्ह्लेर आऊ न !
हे मेरी रानी ! मुहार तिम्रो म देख्न पाऊँ न !
मुना ! ओर्ह्लेर आऊ न !
अँध्यारो भयो ! अँध्यारो भयो !! मनको बिलौना,
उम्लेर आई घाँटीमा अड्क्यो मनको बिलौना !
आँसुमा खस्यो मनको बिलौना !"
"हे मेरा भाइ ! हे प्यारा भाइ !!" ती दिदी भन्दछिन्,
पछ्यौराछेउ पुछेर आँसु ती दिदी भन्दछिन्,
"हे मेरा भाइ ! नगर त्यसो धीरज लेऊ न !
आखिर जानु सबैले पर्छ, यो सम्झी लेऊ न !
चार नै दिनको यो पापी चोला, यो मैलो गुमानी,
आखिर छर्छ हावाले फेरि एक मुठी खरानी !
बाबू ! एक मुठी खरानी !
मासुको फूल वैलेर जान्छ मट्टीमा मिल्दछ,
अरू नै फूल पृथिवीपारि स्वर्गमा फुल्दछ !
सधैँको लागि स्वर्गमा फुल्दछ !
सहन भनी जन्मन आयौँ हे बाबू ! सहन,
दुःखमा हामी शोधिन आयौँ, दुःखमा रहन,
आँसुको खोला नुहाई जान्छौँ वैकुण्ठ-भवन !"