Jump to content

Page:Munamadan.pdf/4

From Nepali Proofreaders
This page has been validated
प्रकाशकीय

"महाकवि लक्ष्मीप्रसाद देवकोटा तीनचोटि जन्मे– मुना-मदनसित, शाकुन्तलसित र पागलसित" भनेर श्री बालकृष्ण समले एकसूत्रमा देवकोटाको सम्पूर्ण गाथा भरिदिनुभएको छ । त्यही पहिलो 'जन्म' प्रति उहाँको पहिलो 'प्रेम' पनि रहेछ। स्वर्गे हुनुभन्दा केही दिनअधि 'शान्तभवन' अस्पतालमा उहाँले भन्नुभएको थियो रे- "मुना-मदनबाहेक मेरा अरू सबै कृति जलाइदिए पनि हुन्छ।"

महाकविले भने पनि हामी नेपालीचाहिँ एकमुखले भन्छौं– "जलाउन पर्दैन, ती सबै कृति अमर छन्, बाँचिरहनेछन् ।" अब यस मुना-मदनलाई त 'अमर' मात्र भनेर पुग्दैन होला। यो त अजर पनि रहेछ । आज तीस वर्ष पुगिसकेर पनि यो त्यत्तिकै प्रिय छ जति पहिले थियो ।

आठौँ संस्करण (२०१६) मा महाकविले परिवर्द्धित गरी थप्नुभएको क्षेपकलाई हामीले पनि सोही रूपमा छाप्तै आएका थियौँ । पुरानोमा बानी बसिसकेका पाठकलाई यो थपथाप त्यत्तिको स्वादिलो लागेन रे भन्ने जान्दाजान्दै पनि पाठकहरूको स्वादको कदर गरी यस संस्करणमा हामीले मूल र क्षेपकलाई छुट्ट्याई छापेका छौ । मुना-मदनको १९९२ को प्रथम संस्करणमा भएका श्लोकहरू मूलको रूपमा १६ प्वाइन्टको अक्षरमा र पछि थपिएको क्षेपक जति १२ प्वाइन्टमा[1] पादटिप्पणीका रूपमा छापिएका छन्। यसो गर्नाले पुरानो मात्र मन पराउनेले आफूले चाहेको कुरा भेट्टाउनेछन् । अनि महाकविका क्षेपकका प्रेमीहरूले पनि आफ्नो प्रिय वस्तुबाट वञ्चित हुनुपर्ने छैन।' यसपालिलाई यस्तै भयो, अब पाठकहरुलाई यो चाँजो कस्तो लाग्छ, हामी जान्न उत्सुक छौँ।

वि.सं. २०२५

क.दी.


फेरि- दुई वर्षअगि लेखिएको यो प्रकाशकीयमा अब यति थप्नुपर्ने देखियो– "पढनेहरूले यसरी दुवै पक्षलाई हुने गरी तयार पारिएको संस्करण निकै मन पराएको बुझियो। सबैलाई यथायोग्य धन्यवाद !"

वि.सं. २०२७

क.दी.


  1. प्रस्तुत संस्करण कम्प्युटर टाइप सेटिडको १४ र १३ प्वाइन्टमा गरिएको छ । –प्रकाशक