Jump to content

Page:Munamadan.pdf/35

From Nepali Proofreaders
This page has been validated

पहाडवारि पहाडपारि पर्दाले ढाकेको,
स्वरूप तिम्रो खालि छ मेरो मनमा जागेको,
झल्झली देखी विरह लागेको !
वचन तिम्रो तारमा मनको निदाइरहन्छ,
सम्झेर आयो झन्कन्छ भित्र, कहानी कहन्छ,
दुःखको कानमा सुखको कथा बजाइरहन्छ,
पखेटा छैनन् उडेर जान, चिडिया उडेका,
हेरेर बसी आँसुका थोपा गहमा छुटेका,
देखेनौ तिम्ले कतिका थिए छातीमा गुडेका !
किन हो किन, यो मेरो मन बादलले ढाक्दछ,
सियोको टुप्पा नदेख्ने गरी मुटुमा लाग्दछ,
प्राणको मेरो पखेरु रुन्छ पिँजडा परेको,
न उड्न पाई, न खोज्न पाई चिन्ताले पिरेको ।
यो उड्न पाए त्यो पाउमाथि लुटपुट पर्नेछ,
त्यो छातीमाथि गएर फेरि भुर्भुर गर्नेछ,
सधैँको निम्ति साथमा फिर्नेछ ।
पैसाको यस्तो भुमरीभित्र किन हो पसेको ?
मनको धन छाडेर किन ह्लासामा बसेको ?
हे पैसा ! तैँले पासोमा पार्छस् सिंह झैँ हृदय !
सोझाको सराप असलको विलाप, दुष्टको अभय !
पैसामा भुली बिर्सेको हो कि ? कसैले भुलायो ?
प्राणको मन छकाईकन अरूले डुलायो ?
बिर्सनुपर्ने यसरी होइन ! भमरासरी मन !
के भर त्यसको ? नलागोस् पाप, पापी छ मेरो मन !
प्राण ! पापी छ मेरो मन !