लहरा हल्के हल्लेर फुल्की मधुमा, गुनगुन भो !
नवीन मीठा कलकले वन शिशु-शिर छुनमुन भो,
वास्नाका कणी दुगुर्न थाले पोथीलाई बोलाउन,
शब्दले डाक्थ्यो मुटुको शब्द,
प्रश्नका साथ उत्तर लागे वनलाई गुञ्जाउन,
सृष्टिले नयाँ नाटक रचिन् आनन्द चञ्चल भो,
प्रेमको राज्य हरियो भयो, जीवन हलचल भो,
पूर्णिमा आइन् हिमाल-भालमा बाटुली बनेर
अमृत-थाली झिलमिल फाली,
जादूको जाली शीतल हाली,
चराचर-दिलमा जलप लगाई हिमाल सपनेर,
वर भो यौटा द्यौथल सुन्दर जूनको जलपमा,
परीको संसार, स्वप्नाको मुहार, शीतल झलकमा,
जुनेली फूल फक्रेर आए हृदय खोलेर
पातला पात भै पारदर्शी जूनसँग बोलेर,
बुद्धको थियो उत्सवको रात, उज्यालो खुलेको
विश्वमा शान्ति मनमा कान्ति,
चराचरलाई नवीन जीवन अमृत मिलेको
लामाले लियो बाँसुरी हातमा, वनको बाँसुरी
जनको मन कुर्लने भन,
सङ्गीतको आत्मा अटाउने खाक्रो प्वालसुरे बाँसुरी ।
टिरि र लिरि बाँसुरी बोल्यो अबोल बोलाई वन
लावा र फुचा हातपाउ फाली,
तालमा नाचे शरीर चाली,
बुद्धको जीवन-कथाको सारमा भावले नाच्यो मन,
गीत गाए तब लामाका जहान मिलेर वनमा
भोटेको छन्द दोसाँधे मिठास शब्दको बन्धमा,
मदनको आत्मा बुद्धको लोकको मुक्तिमा रमायो
उनले टिपे तलको गाना हृदय रसायो–