This page has been validated
"बेपारीलाई कामको भीड फुर्सद पाएन,
लेखूँला भन्दै भुलेको होला त्यसैले आएन,
वनको बाटो डाँडा र काँडा, टाढा भै आएन ।"[✺ 1]
मदनलाई बाटामा हैजा लाग्छ
"नछोड मेरा हे साथीभाइ ! वनमा मलाई,
काग र गिद्धहरूको पापी शिकार बनाई,
घरमा मेरी ती बूढी आमा, ती बूढी मर्नेछन्,
चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछन्,
हे मेरा साथी ! हे मेरा भाइ ! म अझ मर्दिनँ,
कालको साथ लडेर उठ्छु वनमा मर्दिनँ,
- ↑ ✺'नमान पीर बुहारी मेरी ! पीरले सुहाएन'
'तैपनि लाग्छ मनमा बादल, कुइरो धुरिन्छ;
शङ्काका छाया नाचेर उड्छन् मन पीरले भरिन्छ;
खराब कुरा नसोच्नू भन्छन् अफाल्दा फर्किन्छ
मुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छ,
हजूर ! आँखिभौँ फड्किन्छ ।
हजूर हाम्रो अबला चोला आधार हुँदा दूर,
सुकेको पात झैँ शीतको बेला,
हिमाली सासमा काँपेर उठ्छ थरथर, गली नूर,
मुटुकी चरी छायाले डरी, भटभटी भुर्भुरी
उडूँ कि बसूँ सरि छ जीवन-हाँगामा फर्फरी
हिमाललाई हेर्यो मन चीसो हुन्छ पर्वत हेर्यो नीर,
हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर ?
हजूर ! के गरी रहूँ थिर ?'
'नमान पीर बुहारी मेरी ! असलै हुनेछ,
फूल झैँ छोयौँ संसार हाम्ले,
न मान्छे न त दैवले हाम्लाई काँडाले छुनेछ ।'