This page has been validated
बसेको बस्यै घरमा पुगे आमा छन् बिरामी,
मुनाका आँखा रोएर ठूला, नयन बदामी,
लाम्चिला, ठूला नयन बदामी !
घ्याङ्घुङे घण्टा गुम्बामा बज्यो, बादल झुम्मियो,
पहाडमनि पहाडी छाया साँझमा लम्बियो,
बतास चीसो चम्केर आयो मनको तन्द्रामा,
उठेर देखे भेडाको भुवा ओढेका चन्द्रमा,
उदासी जून, फिकामा गए मदन डेरामा,
ती आमा नाचिन्, ती मुना नाचिन् आँखाको घेरामा,
त्यो रात त्यसै छर्लङ्ग गयो, ओछ्यान बिझायो,
छातीमा केले थिचे झैँ लाग्यो, आकाश रछायो,[✪ 1]
- ↑ ✪छ बीस दिन उज्याला पङ्खी हिमालमा ब्यूँझेर,
पश्चिमी सुनको सागरपारि गएछन् उडेर,
गोसाइँकुण्डको धेरै नै पानी गङ्गामा बग्यो हो,
ह्लासाको जादू घरले जित्यो,
नेपाल-खाडी निर-किल्लाभित्र स्वप्नमा अड्यो हो ।
साहूका साथ सिकेर किल्ली बेपारमा चलेथे,
तीन मैह्ना चल्दा क्यै गुठिल जम्मा भएर फुलेथे,
कस्तूरी असल बिनाका बिना बटुली सह्यारे,
शिलाजित बूटी उत्तम केही बटुले त्यहाँ रे,
सुनका माल प्रशस्तै मिले लगाउँदा लगानी,
आफूलाई चाहिनेसम्मको धन कमाए त्यहाँ नि !
ओखती केही लगेका थिए एक लामा धनीको,
दमको व्यथा निमन भयो भाग्य नै बनिगो,
आफूले उनले चिताएभन्दा रास थियो सुनको,
नेपाल फर्की जानै भो इच्छा अब ता उनको,