Jump to content

Page:Munamadan.pdf/13

From Nepali Proofreaders
This page has been validated

वैलेर झर्ली नबोली, बोली को सुन्ला वहाँ ए !
प्यारा ! को सुन्ला यहाँ ए !
सवारी हओस् भन्नै ता पर्‍यो मुख थनी मुटुको
नरुँदी चरी पिउनेछ मरी आँसुको घुटुको
कमलको मुटु खुम्चेर मर्छ
भ्रमरा-दर्शन त्यसमा पर्छ
तिमिर छाया मुख बाउँछन् धुइरा, शीतले काँप्छ तन
प्यारा ! शङ्काले काँप्छ मन !

मदन–
पुरुषको प्यारी, सङ्ग्राम संसार, विजय उसको सार !
पौरुषविना पुरुष हुन्न तरवार विनाधार !
सङ्घर्षद्वारा बिजुली बल्छे, विक्रमद्वारा दीप !
तिमीलाई पाउन म दूर जान्छु झन् आफ्नो समीप
देहको न्यानो नजीकको प्यारी, आत्मालाई बिर्साउँछ
चौमासको वियोग किन हो ज्ञानी ! तिमीलाई तर्साउँछ
दूरतालाई गिज्याउँला हामी तिर्सना चढाई
झन् तिखो प्यासले सँगसँगै ह्वौँला मुटुलाई मिलाई
तिमी ता मेरी जीवन-ज्योति बाटाकी दियाली
ननिभ्ने कहिल्यै, नछोड्ने कहिल्यै जीवन अँगाली
तिमी छौ पर भन्ने यो डर मलाई हुँदैन
हिमालपारि, हिमालवारि,
कल्पने चरी भुर्भुरी गरी,
तिम्रो त्यो अमर प्यारको मुटु पङ्खले छुँदैन
प्यारी ! पङ्खले छुँदैन ।
पुछ्नद्यौ आँसु नजरका दाना बरबर गुडे झन्
पर्वत-खाडी-सागरले छेक्छन् प्याराका जोडी कुन ?
कालको वारि, कालको पारि एक वस्तु अमर छ
दुइटा जोडी दिलको प्यार,
दुइटा आत्मा जोडिने तार