This page has been proofread
बज्छन् मुख चुम्बा
गिन गिन गुन्गुनी ।
बज्छन् घ्याम्पे ढ्याङ्ग्रा
घड् घड् घन्घनी ॥
(९)
बुद्ध मन्दिरमाथि,
झल्लर छाता छ ।
झल्लर सुनको छाता,
साँझको नाता छ ।
नाच्छन् वरिपरि
पयर फेकेर ।
कोकिल कण्ठी राम्रा,
हेलम्बूकी छोरी,
फूलमा टेकेर ॥
(१०)
राता राता धूपी
गोसाईं बाटाका ।
बुद्धअघि बाल्छन्,
अमर धुनी मगमग
मगमग अमर धुनी
हिमाल पाटाका ॥
(११)
नौनी दिया झिलमिल सेता लप्का छन् ।
भोटे धूपका ठोसा राता टुप्पा छन् ॥
रङ्गबिरङ्गका राम्रा फूलका झुप्पा छन् ।
वरिपरि घुम्ने उल्का रूपका छन् ॥