Jump to content

Page:Laxmi nibandhasangraha.pdf/98

From Nepali Proofreaders
This page has been proofread

हामीले बेत खायौं, गधाको उपाधि पायौं र थुकियौं; तर हाम्रा गुरुजीले हामीलाई कति गधाजस्तो बनाइरहनुभएको थियो, त्यो जान्ने या त हृदयभित्रको आत्मा होला, या स्वर्गमाथिको परमेश्वर !

मलाई यस्तो लाग्दछ कि मानवजाति संसारभरको अन्धो र अभागी जाति हो। ऊ ज्ञान खोज्दछ र हरहमेशा अज्ञानमा रहन्छ र साधारण विवेक छाडेर कुकुरकै पुच्छर सोझ्याउने काममा लाग्दछ । मानिसले ज्ञानको वृक्षको तीतो फल चाखेर धूर्तता जान्यो, तर के फाइदा भयो ? हामी अन्तःकरणको टुङ्गाइमा हरहमेशा रहन्छौं भने अन्तःकरण पाउनु नै कर्तव्याकर्तव्यको नाटीकुटी बढाउनु नै के हाम्रो भस्माभुटीको चिह्न होइन ? घाँस खानेले प्रकृतिको पथ छोडेन, तर अन्न खाने पाप र धर्मका उपर रौंकेलाइ गर्दा-गर्दै अधमुण्टो लागेर नरकमा हामफाल्दो छ । संसारमा धनको लोभ गर्ने मानिसको शिरमा चक्र घुमिरहेछ । तर निरुत्तरदायित्वको मजा चाख्ने बुद्धिमान्‌ आनन्दसँग झोक्रिएर बीचबीचमा मानवजातिका सभ्यतालाई हँस्सी उडाउने 'ही ही ह ह ।' को शब्दको स्वतन्त्र उद्गार गरिरहेछ । उसलाई यमराजले दण्ड दिने बाटो छैन, चित्रगुप्तले बहीखाता पल्टाएर सोध्ने कुरा छैनन्‌ । तर को बुद्धिमान्‌ ? दुनियाँ मगजमा बोझा बोक्ने र सहज बुद्धि त्यागेर अन्तःकरणको दर्शन स्वीकार गर्ने मानव कि निरुत्तरदायी संतोषमा बेदर्शनी अन्तःकरणशून्यताको वरदान प्रकृति र परमेश्वरसँग माग्ने, हाम्रा बुद्धू ठानिएका चारखुट्टे दार्शनिक ! हामी असन्तुष्ट विद्यार्थीहरू गुरुजीसँग नम्र प्रश्न गर्दछौं–हाम्रो मानव नाटीकुटी र अनन्त वेदनाको तीनपुछ्रे शास्त्र गधाभन्दा कति उपर होलान्‌ ? के त्यो दार्शनिक होइन जो मानवसेवा गर्दछ, तर पछिलाई कुमारीचोकको बहीखाता राख्तैन, जो प्रकृतिको नदेखिने औंलाको इशाराले हिंड्न जान्दछ र शिरमा भैंचाले धरापको चक्कर नराखेर रौरव र गौरव दुवैबाट बच्तछ ।