एक किसिमको धूर्त बदमाश ठिटो हो– जो सडकमा हिंड्दा कहिले- कहिले ढुङ्गा हान्छ, कतै-कतै आनन्दले फुलेर हेर्दछ, तर घोरिदैन-पाठघोकुवा, 'हलन्ते'को मिजाजले । यो एक किसिमको मनको जालीले जगत्मा लहडी माछा मार्ने कला हो । यो टेबिल-गफ हो, चश्मादार अध्यापकको व्याख्यान होइन, न त वमन-वेदान्त । यसमा ठर्रोपना हुँदैन, यो लच्किन्छ र घनिष्ठतातिर ओर्लिन्छ । चुरोट खाँदै साथीभाइसँग चुट्किलो जेहेन देखाउने ताश गञ्जिफा गफजस्तो यो प्रबन्ध हलुका क्षणको शृङ्गार हो । रमरम बुद्धि मात्रको दावा राख्तछ । यो मूर्ख हुनुमा घिनाउँदैन यदि मूर्खतामा पनि एक किसिमको साहित्यक रस भरिएर विनोदकारी बनोस् ।
यस किसिमको रचना नेपालीमा प्रचलित नभएकोले मैले यसतर्फ हातको कुतकुती नोकदार कलमले चुट्किलो तवरसँग मार्ने एउटा मीठो प्रयत्न गर्न खोजेको हुँ । म कति मात्रामा सफल बनेको छु, त्यो ता पाठकवर्गको युग-युगको समालोचनाले अन्दाज दिंदै जाला, तर म हरएक दिन आफूसँग मीठो गफ गर्दै तृप्त भएको थिएँ– त्यस ठाउँमा जहाँ चिसो मेचमा ठण्डा कलम कोरेर मानिसहरू साहित्य लेख्ने गर्दछन्– याने भाषानुवाद-परिषद् अड्डामा । तर यी विषय अड्डाका थिएनन्, म स्वतन्त्रताको बगदादी कारपेटमा बसेर प्रबन्धरानीलाई हावामा उडाइरहेको थिएँ । अनुभवबाट अतीत तथा वर्तमान मैले छानवीन गर्दै रसिला चीजहरूको नाश्ता बनाएँ- या चमेना- अल्छी कोठरीमा हलुका पाठकवर्गका डफ्फा बोलाएँ– केही छैन सादा आलु-तामा ।
लक्ष्मीप्रसाद