Jump to content

Page:Laxmi nibandhasangraha.pdf/64

From Nepali Proofreaders
This page has been proofread

छ, यहाँका रङ्ग गाढा र रसिला छन्, यहाँ सूचनात्मकता छ, जो कविता र सङ्गीतको मुटु हो, यहाँ जीवन एकोहोरो गाढा सडक जस्तो देखिन्न । यहाँ औपन्यासिकता छ, कतै उच्चाइ, कतै नीचाइ, चढ्नाको जादू, हेर्नाको मोहनी, सुन्नाको माधुर्य । भारत मैदान पहाडको माटोले उब्जनीको शेखीसम्म गर्दछ, तर रित्तो पट बिछ्याएजस्तो मात्र छ, यहाँ हरएक पटमा सच्चा चित्रकारी छ । एक पहाडका कुनामा बसेर हेर्नु, दुई- तीनतर्फ दृष्टि दिँदा, उही ठाउँबाट दुई-तीन संसार देखिन्छन् । म कहिले हेर्दाहेर्दै देखिरहेछु, एकै पहाडमा चार किसिमका चित्रहरू छाया, घाम, सिमसिमे पानी र कुहिरो ।

जुन पृथ्वी यस्ती शस्यशालिनी छन्, जसमा यस्ता सौन्दर्यका विभिन्नताहरू रंगदार छन्, जहाँ एक पहाड एउटा सजीव दुनियाँ छ, चरा, मृग र बाघहरूले परिपूर्ण संसार, जसलाई हेर्दा मानवमुटु विचित्र त्रासले ढक्क फुल्दछ, जहाँ ढुङ्गामा चाँदीजिभ्रा छन्, झ्याउका मोती छरिएका छन्, जहाँ नालामा दिव्य भाषण, जहाँ पत्रहरू सजीव दुनियाँका हलचल झैं हमेसा बोलिरहेछन्, जहाँ प्रकृति रङ्ग-रङ्गका दृश्यचित्र रची-रची रङ्ग रोशनी परेका कुशलता प्रदर्शन गरिरहेकी छन्, जहाँ लहराहरू राष्ट्रिय झन्डा झैं प्राकृतिक पर्खालमा फरफराइरहेछन्, अनेकौं फूलहरूले सुशोभित बनेर जहाँ सर्वोच्च हिमालय शासन गरिरहेछ, के त्यहाँका मनुष्यका कल्पनामा बालरेखा चित्र र कार्यहरू बनिरहेका होओइनन् ?

मलाई किन-किन यस्तो लाग्छ कि हिमालयको विशाल उच्चाइको नजीक रहेको जति तिनको गौरव र तिनको उच्चतासँग भित्र-भित्र गाँसिएको हुन्छ, शस्याढ्य भूमिका पुत्रहरूका मगजमा उब्जनी-प्रतिभा हुन्छ र उनका कल्पनाचित्रहरू विपिनप्रचुर हुन्छन्, ज्यादाजसो कविहरू फूलबारीको नजिक जन्मन्छन्, महापुरुषहरू पहाडको नजिक । दूधमुखे शावकहरूका चेहराहरूले मान्छे धेरैजसो साधु बन्छन्, बाघ पाल्ने वनका नजीक वीरका झोलुङ्गालाई प्रकृतिमाताले हल्लाइरहेकी हुन्छिन्, धेरै चराहरू बोल्दो देशसँग म कविताको सम्बन्ध देख्तछु, वनका गम्भीर गोधूलिमा मलाई विवेकको अँधेरी र ज्ञानको पूर्ण उज्यालोको दोसाँधमा रहने भावनाहरू व्यक्त हुँदै आउँदछन् । म नेपालमा हुँदा वनकालीमा आनन्द पाउन सक्तछु, तर कलकत्ता जाँदा बिर्सन्छु । पहाड र गानाको नित्य सम्बन्ध छ, जस्तो वाक् र अर्थको । स्वर्ग बर्सन्छ त्यहीं, पहाडी