'शिशु फूल'[1] फुल्थे । मैले ती खाना खाएँ, जो पीरहरूले फूलको कचौरामा ल्याउँथे । के उषाका दरबारहरू दिउँसै बनाएर तिमीले हेरेका छैनौ ? मेरा छिनाहरू मैले रूखका जरामा राखेथें; चराहरू फुलाउन ! नसुनेका गानाहरू र नखाएका खानाहरू कहाँ खँदिला हुन्छन् ? मेरो मट्टीमा कहाँबाट किरण पस्यो ? विशाल झल्किरहेका शिखरहरू तिमीले देखेका छौ ? म अपूर्णतामा पूर्णता कसरी बोल्छ भन्दै विशालको मुटुमा स्पन्दन सुन्दछु– मभित्र फुलेको फूलको कोपिला सुँध्दै दुनियाँ सभ्यताको दावा गदछ । मेरा अस्फुट भावनाहरूमा यसका अदृष्ट निर्भर छन् । मेरो विश्वासमा दुनियाँले भारसाम्य पाएर अनन्ततामा जीवनता विस्तार पाउन आशा राख्तछ । मेरा मानव-कल्पनाहरूले यस शिशुलाई पोसिरहेछन् । म भित्रबाट शून्य हुनुमा परमेश्वरको गादी थर्कन्छ । मेरो सौन्दर्यचेतमा कल्प सृष्टि भए; मेरा सत्य चेतमा वेदहरू कमलमा फुले । मभित्र अतीतको कम्पन छ; वर्तमानको स्पन्दन र मेरो हतपतमा भविष्यको चित्रण छ । मलाई ज्योतिषीका पूर्वदर्शिताका शक्तिहरू दिएका छन् । म विरोधमा स्पन्दन पाएर तेस्रो तत्त्वमा साम्य लिन्छु ! म र विश्वबीचमा हुने सहानुभूतिको सूक्ष्मता देवताहरू स्वर्गको कल्पद्रुममनि बसेर पढिरहेछन् ! म नीतिको चन्द्र-सूर्य अड्याउँछु र मेरा भावनाहरूलाई अनुवादद्वारा परमेश्वरका संसृताका इच्छाका लहराका शब्दहरूले अदलबदल गरिरहेछन् । मलाई हृदयमा विश्व भत्काउने शक्ति दिइएको छ ! र तैपनि मलाई दुनियाँ बुझ्दैन । दुनियाँका धेरै सूक्ष्म कलाहरू अझ मेरो गर्भमै छन् ! भाव, विश्वास, कल्पना, श्रद्धाका क्षेत्रमा तिनीहरू अग्राह्य रूपमा विचरण गरिरहेछन् । म दुनियाँको भण्डार हुं र मबाट बजारमा नचिनिने जुहारहरू झल्कदै बर्सिरहेछन् । म कहिले तिनलाई आँसु भन्छु, कहिले कविता, कहिले परमेश्वरका सूचनाहरू । तर दुनियाँले मलाई खोस्टो देख्तछ; दुईहाते, दुईखुट्टे, दुईआँखे बिकम्मा माटाको खल्लो मूर्ति–जससँग लडाइँ-भिडाइँ गर्नु र स्पर्धा राख्नु उसको दैनिक जीवन हो र कसैले त्यहाँ हेर्यो– जहाँ म स्वर्ग र नरक सिर्जना गर्दछु ? त्यहाँ जहाँ समयका लहरहरूका चपतमा मेरो गहिराइ जीवन हो, अभिप्राय शब्द निक्लने अन्तःकरणका ध्वनिहरू क्षण-क्षणका बाजामा बज्दै
- ↑ मेरो एक गाइने गीतको शीर्षक ।