होला । जलभन्दा सुन्दर चीज हामी साधारण जीवनमा पाउँदैनौं । अरू चीज यत्तिकै बोल्न सक्तैनन्, न त चराहरू नै यत्तिका मधुरभाषी देखिन्छन् । यहाँ एक अधर मात्रै छैन । यहाँ भाषा गद्यमा रहन्न । प्रवाहशील, तरङ्गशील, सूचनाशील सौन्दर्य यिनै नागबेली ध्वनिहरूमा पाइन्छन् । पहाडहरू बोलेको सुन्ने इच्छा यहीं तृप्तिको नजीक आउँछ । यस ध्वनिको सौन्दर्य कहीं फूल भएर फुट्छ, कहीं जमीन भएर लहलहाउँछ, कहीं चराले टिपेझैं बोली भन्दछ । यो प्राण-स्पृश्य छ– विशेष गरेर गर्मीका दिनमा । हाम्रो जीवन वीणा भए सरस्वती खोलाहरू हुन् । हाम्रा शिराहरू सुर मिल्दै आउँछन्– जीवन बन्दछ, तब हाम्रा पहिला कविताहरू नदी- किनारमा निस्कन्छन्।
कलकलमा चिच्याटलाग्दोपना हुँदैन । पाटनका शब्दबाट यिनीहरू ध्रुव दूर छन्, यहाँ अविरलतासँग नवीनता हरहमेशा गाँसिइरहेको छ । यो ध्वनि एकै किसिमको जस्तो भए पनि विभिन्नता लिइरहेको जस्तो विदित हुन्छ । उहाँ लहर आउँदछन्, तर उनै होइनन्, उस्तै रेखाहरू बन्दछन्, तर भिन्न-भिन्नै । ध्वनि उही किसिमसँग निक्लन्छ तर नित्य नवीनको अनन्तको बोलीमा दोहर्यावटविना एकै सत्य मुखरित भइरहेको जस्तो बुझिन्छ । हाम्रो हृदयले छन्द र लयको पहिलो आभास ज्यादाजसो यहीं पाउँछ अनि कवितको विकासक्रममा उही ध्वनि रूखका जरामा घुम्दछ, फूलमा गएर रङ्गिन्छ, सूर्यको किरणसँग मितेरी लाउँछ, मोती र मुगाहरूसँग गाँसिन्छ, पन्नाहरूमा फुट्तछ, कोइलीले पक्रिन्छ र भाषामा प्रवाहशील बनेर बग्दै आउँछ । ज्यादा-जसो पहाडीहरू प्राकृत कवि हुन्छन् र लयदार भाषामा गीत गाएर डोकोलाई संगीतमय बनाउँछन् । मलाई यस्तो लाग्छ कि पहाडहरूले यिनीहरूलाई कविता सिकाए । कल्पनामा लयदार ध्वनि पैदा गर्नलाई पहाड र सरिताको कलकलभन्दा प्रबल उत्तेजना मैले कतै देखिनँ ।