नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष
साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन हृदयस्पर्शितामा निर्भर रहन्छ । नेपाली साहित्यको इतिहास हेर्दा हामीलाई त्यत्तिको प्रभावकारी र सर्वप्रिय रचनाहरू अरू जँच्तैन, जत्तिको भानुभक्त कविको नेपाली रामायण । धेरै यस रचनालाई हेला पनि गर्छन् तर उनीहरू सम्झँदैनन्-यो रचना आफ्नै हृदयको कति नजीक छ ।
हामीहरू ज्यादाजसो साहित्यलाई खालि शृङ्गार देख्तछौं; शब्दलाई फा लगाएको, लाली चढाएको, आधुनिकता निकालेको, अथवा कालिदासको झैं उपमाहरूले झल्लरी-मल्लरी बनाएको एउटा रङ्गिलो आडम्बर, एउटा रसगोले माधुर्य, अथवा संस्कृतको आडम्बर, या खिंचातानी चमत्कार । हामी 'अलङ्कार-चन्द्रोदय'लाई साहित्य सम्झन चाहन्छौं । हामी बौद्धिक र बोक्रे रुचि देखाउँछ । हामीहरू अनुप्रासलाई किताप भन्दछौं र भडकलाई आधुनिकता । हाम्रो माग रुग्णको रुचि जस्तो छ । निःसारमा हामी सार देख्तछौं, हाम्रो बीसौं शताब्दी ज्यादाजसो कृत्रिमतामै रमाउँछ । हामी मुद् चाहँदैनौं, भुलभुलावटको जरूरत छैन, सच्चा हृदयको स्वदेशी सौन्दर्यको कदर गर्न सक्ने शक्तिको न्यूनता हामीहरूमा अरू सबै दोषभन्दा ज्यादा टड्कारो छ।
म चाहन्छु हृदय । कविको छन्द भुलभुलावट होस्, न कि तगण र औंलागनाइ । प्रसिद्धिप्रेमको प्रेरणा मलाई निको लाग्दैन । म चाहन्छु हृदयको ऐंडी । कविलाई त्यहाँबाट लेख्न मन लागोस्, जहाँ मानवआँसुहरू प्राकृतिक भावमा पग्लिन्छन्, जहाँ सत्यको आमन्त्रण आत्मामा सुन्दरको ध्वनिमा स्पष्टीकृत हुन्छ । कवि बोलोस्-जसरी चराहरू बोल्दछन्, न कि जसरी वस्तादहरू कसरत गर्दछन्, हृदयले हृदयलाई बोलाओस्