कुनै चिजलाई घृणा गर्न सक्तैनौं । नरकको पनि माने छ, सड्नु पनि प्रकृतिको नियमअनुसारको स्वस्थ क्रिया हो तब जुवा खेल्नु चरित्र भ्रष्टको लक्षण भनेर प्रष्ट तवरले भन्न सक्तैनौं ।
मनोवैज्ञानिकलाई जुवा जस्तो राम्रो अध्ययनको विषय केही छैन । यहाँ अनेक किसिमका चेहरा पढ्न पाइन्छन् । कोही मुख राता, कोही निला । कोही हाँसिरहेका हुन्छन्, कोही अनिश्चित तवरले अन्दाज गरिरहेका हुन्छन् । मानिसले धर्मलाई त्यहीं ल्याएको हुन्छ र मनुष्यको लक्ष्मीपूजाको तमाशा भन्ने यही जुवा हो । अनेक कक्षाका मानिसहरुको अनेक–अनेक किसिमका भावहरु र अनेक–अनेक किसिमका अवस्था र अक्षणहरु यहीं देखिन्छन् । जसले खालमा बसेर जुवा खेलेको छैन त्यसले यी कुराहरु राम्ररी बुझ्दैन । त्यहाँ मनुष्यहरु घुँडा धसेर, छाती फोरेर मारा चिल्लाइरहेका हुन्छन् । पैसाले चकत्कारी आकर्षण र अनेक चुड्किला हँसिला खेल देखाउँछ । कहिले हँसाउँछ, कहिले चम्काउँछ, कहिले अँध्यारो बनाउँछ । मानिसले अन्न खाँदैन, घर सम्झँदैन, निद्रा निको मान्दैन र प्रकृतिका अरु क्रियासम्म पनि रोकिएको थाहा पाउँदैन, तर आशालाई ऊ छाड्ने होइन । ऊ हरहमेशा 'आउँछ कि आउँछ कि' मा छ । मिजास बदलिन्छ, झोकाझोकी पर्दछ । तर उसको आशा सधैं उत्तिकै छ । बराबर आशाले ठक्कर खान्छ तर फेरि उत्तेजित भएर अगाडि सर्दछ । मानिस जित्नका निमित्त हारिरहेछ, उठ्नका निमित्त लडिरहेछ र हरहमेशा मर्दैछ पनि बिउँझिंदै छ पनि ।
जुवा लाग्छ भन्दछन्– जस्तो गाँजा लाग्छ, चण्डू लाग्छ । यो पनि एक नशा हो, यो नशा प्राकृत छ । हरहमेशा दुनियाँलाई लागिरहेकै छ । त्यही नशाका लक्षणहरु जुवामा प्रदर्शित हुन्छन् । कोही व्यापारमा दौडिरहेछन्, कोही कारखानातिर, कोही अफिसतिर । के दौडिरहेछन् ? तिनै भावहरु जो हामी यहाँ देख्दछौं । जुवा लागिरहेकै छ । बाबु र छोराको नाता बिर्साउँछ, भलाद्मी भलाद्मी झगडा गरिरहेछन् । पैसाको मोहनीले भित्री आँखा बन्द गरिदिन्छ । मान्छे दाउ हेर्दछ अरुहरुलाई बिगार्न र आफ्नो मतलव हासिल गर्न । उसलाई अरुको परवाह छैन । मेरो नै दुनियाँ छ, आवश्यकतामा विलास थप्नु नै जीवनको दौड छ । स्वार्थसङ्केतक गोल चक्कीहरु भाग्यका तमाशामा थपिन, डब्लिन र सोहरिन हरहमेशा चार दिशा घुमिरहेछन् । चञ्चलताले