कुम्भकर्ण
संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग वरदान माग्दा निद्रा मागेको कुरा देखेजस्तो लाग्दैन । उज्यालोको दुनियाँ छाडेर अँध्यारोको संसारमा राज्य माग्ने 'प्लूटो' नामक रोमन देवता थिए र सधैं अँध्यारो गुफामा जगल्टा फिंजाएर बस्न चाहने देवी 'विषादिनी' थिइन् । तर उनीहरू निद्राको आनन्द हरहमेशा गर्दैनथे । उनीहरूलाई पनि कर्तव्यको बोझा वा विषादको जाग्राम थियो । तर निद्राको पूर्ण तवरका उपासक हाम्रा घनघोर सुताहा कुम्भकर्ण थिए । उनले समयद्वारा मूर्खता मागेनन्, उनलाई अरू वरदानभन्दा निद्रा नै सबभन्दा गहकिलो र खँदिलो लाग्यो ।
हामी अनुमान गर्न सक्तछौं कुन कारण कस्तो समझले कुम्भकर्ण वीरले निद्रालाई यस्तो मूल्यवान् ठाने । विशेष गरेर यो हाम्रो बीसौं शताब्दीमा जब डेभिज जस्ता कविहरू एक-एक क्षणको जनावरको फुरसतउपर आँसु र उत्सुकता भरिएका कविता लेख्तछन् । आधुनिक आँखा टट्टाइरहेछन्, अङ्गहरू घ्यार्रघुर्र र संघर्षहरूले थर्किरहेछन्, र निरर्थक अति परिश्रममा कृत्रिमताले कूँजा बनिरहेछन्, दृश्यहरू नक्कलीपनाले झिलमिलाउँछन् र तिर्मिराउँछन्, रातमा सूर्यभन्दा आँखाफोर उज्यालोले हामी अन्धा बनिरहेछौं र बेफुर्सतीको निसास्सिंदो हडबड हाम्रो जीवन छ । यसकारण बीसौं शताब्दीले कुम्भकर्णको तत्त्वको जत्तिको प्रशंसा र कदर गर्न सक्तछ अरू शताब्दीहरूले त्यत्तिको गर्न सकेनन् ।
कुम्भकर्णले शायद यस्तो शोच गरे होलान्– 'यो संसार सुखको स्वरूप कहाँ छ र ? जति हेर्यो उति दर्शन न हो । यता चिल्छ, उता पोल्छ, अनि अर्कोतिर ठुङ्छ, सब स्वार्थको प्रदर्शनी मात्र न हो । रित्ता मुस्कान, बेकम्मा कुरा, कर्तव्यको बन्धन, बहीखाता खुद्रे मिजास, बोक्रे