Jump to content

Page:Laxmi nibandhasangraha.pdf/127

From Nepali Proofreaders
This page has been proofread

मिलाइरहनु पर्दैन, सच्चा चित्रकारलाई रेखाहरूका सच्चाइ प्राकृतिक तवरले नै निक्लँदै आउँछन्‌, तर कच्चा किसिममा खडबडी देखिन्छ । प्रतिभा भनेको त्यस्तो गुण मालूम हुन्छ जो विश्वको लय र बनोट र यसका मुटुका सत्यहरू एक झल्कामा समष्टिरूपले सूचना पाउँछ र तिनका सूक्ष्म संकेतद्वारा काल्पनिक दुनियाँ यस्तो निर्माण गर्न सक्तछ कि सब चीज सत्यका हाँगा झैं आफै सुन्दर भएर फैलिएर जान्छन्‌ ।

मलाई भारत भनेको त्यो माटोको थुप्रो होइन जो हिमालय हो र उत्तरमा पर्खाल भएर तीन तरफ सागरले बेरिएको छ । म भारत देख्तछु त्यसलाई, जो हृदाकाशमा चित्रित हुन्छ । व्यासको कल्पना, वाल्मीकिको कविता, कालिदासका रचना, ऋषिमुनिहरूका काल्पनिक अन्वेषण र सत्य निर्णयहरूमा सच्चा भारत झल्किरहेछ । मेरो भारत विशाल छ र त्यसका दाँजा कुनै देश छैनन्‌ । हाम्रा पुरुखाका सुन्दर उत्पत्तिका कथाहरू, हाम्रा वेद सत्यका स्फुरणहरू, पुराणपुरुषहरूका सत्य झल्काहरू, ती करोडौं अमर सत्य प्रतिबिम्ब मूर्ति र प्रतिभाहरू, शिल्प र चित्रहरू, ती भक्ति र भावनाका अनुपम उद्गारहरू जो भारतीय संस्कृति र सभ्यता छन्‌– तिनैमा सच्चा भारतको अनुहार म पाउँदछु । मलाई शकुन्तला काल्पनिक स्त्री छैनन्‌ न मेरा निमित्त युधिष्ठर खालि एक छाया हन्‌ । श्री रामचन्द्रको सजीवता र सत्यतामै भारतीय जाति अहिलेसम्म जिइरहेको छ । कृष्णजीलाई ऐतिहासिक पुरुष या पुराना राजा भन्ने अंग्रेजको चातुरीले हामीलाई सिकाउन लागिरहेछ, तर कृष्णजीको सत्य व्यापकत्वमा भारत बलिरहेछ । कृष्णजी छैनन्‌ भन्ने विश्वास पूरा तवरसँग म यदि पार्न सकूँ तब म बीसौं करोडौं हिन्दूहरूको प्राण यस संसारबाट बिदा गराउन सक्तछु । मलाई वृन्दावनमा त्यही सत्य छ जो व्यासजीले बताउनुभएथ्यो । म सरस्वतीलाई आध्यात्मिक शक्तिको काल्पनिक प्रतिमा भन्ने विश्वासले हिन्दू संसारमा जिउन सक्तिनँ । मेरा निमित्त हंसवाहिनी माता त्यत्तिकै सत्य हुनुहुन्छ, जुन सत्यको चेतले र विश्वासले मैले कुनै दिन उहाँसँग सपनामा कुरा गरेथें । उहाँले मलाई भन्नुभयो, 'कविता लेख्‌,' मैले उत्तर दिएँ, 'म जान्दिनँ !' तब आफैले मेरा स्वर्गवासी पिताजीका हस्ताक्षर जस्तोमा रातो अक्षरले एक श्लोक लेखेर सुनाउनुभयो जो मलाई तत्कालै कण्ठ आयो । आहा! त्यो श्लोक-सिर्जनाको वेदना ! शायद दुनियाँले सत्यलाई सपनाको श्लोक भनेर नबुझिने हुँदा आश्चर्यको