निमित्त सारेगममा रफत गर्नुतुल्य थियो । मलाई कविताको व्याकरण मन परेन; तर त्यसको लयदार मिठास र मोहनीले शिशुहृदयलाई इन्द्रेणीले पक्रेर लगेझैं लग्दथे । मीठो कविताको बोली चराको बोली झैं लाग्दथ्यो; वनमा बोलेजस्तो । तर चराको प्वाँख मैले कहिल्यै गनिनँ । कल्पनामा सुर चढेपछि त्यसै अक्षर मिल्दारहेछन् र लय घुसेपछि, हावाले बाँसमा मुरली बजाएझैं त्यसै प्राकृत तवरले मान्छे मुरलीको हृदय बन्न थाल्दोरहेछ ।
यस विषयमा म विचार गर्दछु कि पढाइभन्दा प्रकृति उत्तम रहेछ र नियमभन्दा नियति । मानव-आत्माको चाखले आफ्नै दिशा देखाउँदो रहेछ र जहाँ ज्यादा मन गड्यो उहीं मानिस आफ्नो विलास पाउँदो रहेछ । कितापमा लेखिएका नियमर सूत्रपछाडि विश्वमा सूक्ष्म झल्का र अनुभूति पाइँदा रहेछन्, जसले ती नियम, लय र तालमा हिँडाउँदा रहेछन् । सानो क्षुद्र श्लोक-गुँथुवाको सम्बन्धमा मात्र यी कुरा घटाउन चाहन्नँ तर अल्पज्ञका अल्प अनुभूतिहरू पनि विशालका सूचना दिने सारहरू राख्तारहेछन् ।
मलाई आजकाल यस्तो लाग्दछ कि यो छन्द पक्रिने सूक्ष्म बुद्धि र लय पक्रिने सूक्ष्म जेहेन मानव-आत्माको अभिरुचिमा उत्पन्न हँदारहेछन्; र हाम्रा प्रवृत्तिहरू आभ्यन्तरिक अभिप्रायहरूसँग सम्बन्ध राखेर जहाँ सत्यलाई सुन्दरद्वारा देख्तारहेछन् उतैतिर लाग्दा रहेछन् । मेरो सिद्धान्तमा सुन्दर भनेको सत्यको मोहनी हो । मानव-आत्मालाई सत्यतरफ आह्वान गर्ने र सत्यको ओर्लनुमा त्यही लयदार किरणप्रतापको रङ्गिलो मोहनी पाइन्छ जो सूर्यको प्रभाती प्रदानमा देखिन्छ । अनि मानव-चैतन्य त्यसको टक हेरेर आनन्द पाउँछ र त्यसको लयको सूक्ष्म चेत पाएर छन्दको ज्ञान पाउँदो रहेछ, जस्तो चराहरू नवोदयमा उद्गार गर्न त्यसै जान्दछन् । कोइलीले गुरु नराखी गान सिकी; सरितालाई त्यो लयको राहमा चल्न वस्ताद चाहिएन ।
म ता रेखागणित किताबभन्दा प्रकृतिमा टड्कारो तवरसँग पाउँदछु; र जब आकाशमा हेर्दछु तब सब ज्योतिषका पाना त्यसै पल्टिरहेको जस्तो लाग्दछ । गुलाफका पत्तीदार लाल कितापमा जति ज्ञान छ, मैले पुस्तक पढेर पाइनँ र वस्तादका सब रफतभन्दा रमाइला सङ्गीतहरू आफूखुशी बालुवामाथि बगिरहेको देखें । मानवशिल्पकला विशाल