This page has been validated
तिहार
(१)
सुखमय पारी सब संसार
आयो रसिलो चाड तिहार ।
बन्दछ मानू सबको काम
खुसी छन् राजा रैति तमाम ॥
(२)
अन्न छ सबका घर घर पूर्ण
छैन कसैको पेट अपूर्ण ।
काग र डुलुवा कुत्तासम्म
भत नहेर्ने यो छ अचम्म ॥
(३)
घर घर सबका भाँती भाँती
झकमक बल्छन् दीपक-ताँती ।
झिलिमिलि झिलिमिलि वारी पारी
यो छ मजाको रमिता भारी ॥