This page has been validated
शरशय्यामा लडेका भीष्मपितामहले
गरेको श्रीकृष्ण-स्तुति
(अनुवाद)
(१)
अब मति सब यो वितृष्ण गर्छु
विभु भगवान् यदुनाथमा म धर्छु ।
प्रकृतिसित हुँदा कुनै विहार-
जुन विभुको सब सृष्टि भो तयार ॥
(२)
रवि-कर सरि गौर वस्त्रधारी
त्रिभुवन-मोहन, शामलो तयारी ।
मुख पनि अलकाऽऽवली खुलेको
नरहरिमा मन होस सधैँ भुलेको ॥
(३)
मुख सब रण-रङ्गमा उडेको
रज पसिनामय केशले खुलेको ।
कवच-बिच मदीय बाण खास
गडि अति घायल कृष्णको म दास ॥