Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/30

From Nepali Proofreaders
This page has been validated

(२०)
झलमल्ल सुमेरुको उता
उस कैलास गिरीन्द्रको पता ।
जुन धीर यथार्थ पाउला
उसलाई कुन कष्ट आउला ॥

(२१)
जगदीश ! सुमेरु त्यो कहाँ ?
फिर कैलास दुरन्त त्यो कहाँ ?
अलमल्ल सबै अहो ! किन ?
कब होला झलमल्ल जीवन ?

(२२)
मनको भुमरो हलुङ्कसी
प्रभुका पादसरोजमा पसी ।
पिउँदै मकरन्द मस्त भै
कहिले प्यास बुझाउला सबै ?

(२३)
पद-पङ्कजकै रजःकण
प्रभुका प्राप्त भयो र रावण ।
त्रिजगद्विजयी पनी भए
प्रभुकै पार्षद मुख्य मानिए ॥