This page has not been proofread
(१६)
थरीथरी कीट-पतङ्ग-जाति
गर्दै तमासा हर एक-भाँति ।
खेली-रहेका उस झोपडीमा
देखेँ सबै अद्भुत त्यै घडीमा ॥
(१७)
कतै त सिन्के सुनबारुलाका
पोला उभिन्डा नमुना कलाका ।
कतै अरिङ्गाल कतै छ मौरी
कतै घुमेको छ किरो मदौरी ॥
(१८)
'टटट्-टटट्' शब्द गरेर भारी
कतै ठूला माउसुली शिकारी ।
कोखा फुलाएर शिकारलाई
घुमी-रहेका सब सुल्सुलाई ॥
(१९)
कुनै कुनातर्फ कुमालकोटी
कीरो घुसाई गुँडमा चिमोटी ।
देखाई विद्याबल त्यो अनल्प
शनै: शनैः गर्दछ कायकल्प ॥