This page has not been proofread
(२०)
बाच्छो यता अधिक तान्दछ दुग्धपूर
गोपाल गर्दछ उतातिर धारधूर ।
गाई तथापि अति निश्चल शान्तिपात्र
चाटीरहन्छिन खुशीसित वत्स मात्र ॥
(२१)
यस्तो थियो, यति गर्यौँ अब यो गरे त
सप्रन्छ यो समयको यतिसम्म खेत ।
भन्दै किसानगण त्यो गरदै हिसाब
फर्क्यो सहर्ष घरमा सरल-स्वभाव ॥
(२२)
श्रीखण्डशीतल ! मनोहर ! बाबु ! प्यारा !
आऊ भनी प्रणयले गरदै इशारा ।
कोही किसान-गृहिणी घरमा पुगेर
लागे अपत्यमुख चुम्बन गर्न हेर ॥
(२३)
आमा ! भनी छिनछिनै घरबाट ज्यादा
बोलाउँदा तनयले जिउ पारि आधा ।
भन्छे कुनै अलि परै पथबाट प्यारा !
आईपुगेँ नगर धेर तिमी पुकारा ॥