This page has been proofread
(१२)
उतार त्यो भारी मधुर करुणा-द्वार मनको
गरी रक्षा सारा विकल बिचरा दीन जनको ।
यता विश्व-प्रेमी बन, मनुज-चोला सफल होस्
उता स्वर्गद्वार क्षणभर पनी बन्द नरहोस् ॥
(१३)
तिमीभन्दा लाखौँ गुन अझ धनी मानिस पनि
डुलेका छन् बाबा ! फगत भिखमङ्गा सरि बनी ।
विधाताको सारा अघट घटना सम्झ मनमा
सबै मेरो मेरो भनि नभुल यो मोह-वनमा ॥
(१४)
कदाचित् यो तिम्रो भवन चकानाचूर पहिले
हुँदो हो ता हुन्थ्यो कसरि किन यो भेट अहिले ।
दया राख्यो भारी सदय विधिले सङ्गत भयो
सुन्यौ मेरो सानू चिरिबिरि, सबै पाठ पढ यो ।
(१५)
कसै शक्तैनौ यो यदि तिमि भने घच्च सहन
मलाई द्यौ बाबा ! फगत अब यो रात रहन ।
म भोली नै जान्छू नृपतिसँग भूकम्प कहन
पखेटा छन्, सक्छू अझ त नभमा सर्र बहन ॥