Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/8

From Nepali Proofreaders
This page has been proofread
प्रकाशकीय


आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र सर्वप्रथम १९४८ मा मोतीराम भट्टले लेखी छपाएका थिए । भारतजीवनका सम्पादक बाबू रामकृष्ण यसका प्रकाशक थिए । यसपछि सोही जीवनचरित्रको दोस्रो संस्करण नेपाली साहित्य सम्मेलन दार्जीलिङबाट १९८४ अर्थात्‌ इस्वी संवत्‌ १९२७ मा श्री सूर्यविक्रम ज्ञवालीको सम्पादनमा प्रकाशित हुन्छ । यसपछि फेरि त्यहाँबाट यसका अरू संस्करण पनि निस्केको सुनिन्छ ।

नेपाली साहित्यका आदिकविको जीवनी र कृतित्वबारे मोतीराम भट्टले थाहा पाएजति विस्तारपूर्वक लेखेर, रचनाहरूसमेत खोजी सङ्कलन गर्ने र छाप्ने नगरिदिएका भए, भानुभक्तलाई कति पछि गएर चिन्ने थियौँ होला, कति उनका रचनाहरू हराइसक्थे होलान्‌ तथा उनका सत्‌प्रेरणा र सद्भाव ग्रहण गरेर नेपाली भाषा-साहित्यको संवृद्धि, विकास जेजति भइरहेछ शायद यी सबै बलियो टेवाको अभावमा कति गतिरुद्ध वा विच्छिन्न अथवा विलम्बित हुन्थ्यो होला– आशङ्का गर्ने ठाउँ छ । मोतीराम भट्टको त्यही पुस्तकको अर्को संस्करण नेपालबाट पहिलो पटक साझा प्रकाशनले निकाल्ने काम गरेकी छ ।

भानुभक्तको जीवनी र रचनाबारे सबैलाई ज्ञान होस्‌ भनेर यसको पुनर्मुद्रण भएको हो । यसको ऐतिहासिक महत्व त छँदै छ, पाथै मोतीराम भट्टको निःस्वार्थ भाषा-सेवा र साहित्य-प्रेमको दृष्टान्त पनि हुनाले अध्ययन- अध्यापन गर्नेहरूका निमित्त सुलभ होस्‌ भन्ने यसको अर्को अभिप्राय रहेको छ ।